कांग्रेस नेता मीन विश्वकर्मा भेन्टिलेटरमा
कोरोना संक्रमण र निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।
आइसियुमा रहेका विश्वकर्मालाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको हो। उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्। विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार डाक्टरहरूले विश्वकर्माको स्वास्थ्य अवस्थाको पछिल्लो जानकारी शनिबार परिवारका सदस्यलाई दिइएको थियो।
‘उहाँलाई हिजो भेन्टिलेटरमा राखेको हो। अवस्था गम्भीर छ,’ उप्रेतीले भने, ‘निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको भन्ने छ।’
‘उहाँ भेन्टिलेटरमा हुनुहुन्छ। स्वास्थ्यमा सुधार आउन केहि समय लाग्छ भन्ने डाक्टरहरूको भनाइ छ,’ उनले भने।
उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ। विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गरेको थियो।
कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई शनिबार टेलिफोन गरी विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।
गत कात्तिक १ गते विश्वकर्मालाई कोरोना देखिएको थियो। त्यसपछि केहि दिन होम आइसोलेसन बसेका उनलाई पहिले वीर र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गरिएको हो।
विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो। ‘उहाँको फोक्सोभित्र कोरोना भाइरस छ। त्यसलाई उहाँको शरीरको इम्युनिटी प्रणालीले कसरी हटाउन सक्छ। बिग्रेको फोक्सो कसरी सुधार हुन्छ त्यसमा नै उहाँको स्वास्थ्य निर्भर रहन्छ,’ उनले भने।
उनलाई फोक्सोबाहेक अरू समस्या भने नरहेको डाक्टरहरूले बताएको उनले जानकारी दिए। विश्वकर्माका आफन्त दिवस पौडेलले विश्वकर्माको स्वास्थ्य स्थिर रहेको जानकारी आफूहरूलाई दिइएको बताए।