जडिबुटीको अवैध ओसारपसार गर्ने ५ जना पक्राउ
मनाङबाट जडिबुटीको अवैध ओसारपसार गरेको आरोपमा लमजुङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूको साथबाट ठूलो मात्रामा जडिबुटी बरामद गरेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए।
मनाङबाट शनिबार ग १ ज ७४५३ नम्बरको पिकअप बोलेरो जीपले जडिबुटी लमजुङको बेंसीसहरतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र पारेको थियो। खोजी क्रममा बेंसीसहर नगरपालिका–८ नारायणस्थानमा उक्त जीप नियन्त्रणमा लिएर खानतलासी गर्दा जडिबुटी भेटिएको डिएसपी थापाले बताए।
जीपमा लुकाईछिपाई राखेको अवस्थामा जटामसी १६ किलो, बुकीफुल १२४ किलो, धुपीपात ५३ किलो, सुनपाती ९ किलो र भोजपत्र १३ किलो गरी २१५ किलो जडिबुटी फेला पारेको प्रहरीले जनाएको छ।
जडिबुटी ओसारपसार गर्ने जीप चालक कर्ण गुरुङ, जीपमा सवार जडिबुटी ओसारपसार गर्ने मनाङको नार्फु गाउँपालिका २ का ४५ वर्षीय लाम्पा छिरिङ लामा र मनाङकै नेस्याङ गाउँपालिका ३ बस्ने २९ वर्षीय पल्मु लामालाई पक्राउ गरेको डिएसपी थापाले जानकारी दिए। यसैबीच, लमजुङको बेंसीसहर नगरपालिका ८ का ४४ वर्षीय शान्ताकुमारी तामाङलाई पनि जडिबुटी लुकाईछिपाई राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
उनको घर खानतलासी गर्दा पाँचऔले ८ किलो प्रहरीले बरामद गरको छ।
सोही स्थानका ४६ वर्षीय मिनबहादुर तामाङको घर खानतलासी गर्दा पाँचऔले साढे ३ किलो, निरमसी ५३ किलो, मजिठो १४ किलो, पिप्ला २४१ किलो सतुवा साढे ८ किलो, जटामसी साढे २ किलो, ढालिङ १०६ किलो, कुड्की ५४ किलो गरी ४८२.५ किलो जडिबुटी प्रहरीले बरामद गरेको छ।
जडिबुटी अवैध रूपमा राखेको आरोपमा मिनबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ। बरामद भएका जडिबुटी र पक्राउ परेका ५ जनालाई नै आइतबार जिल्ला वन कार्यालयमा बुझाएको डिएसपी थापाले बताए। बरामद भएका जडिबुटीको बजार मूल्य झण्डै २० लाख रुपैयाँ रहेको जनाएको छ।