कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लगाइएको छ । कर्फ्यु गएरातिदेखि लागू भएको युएसए टुडेले जनाएको छ ।
हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने खबरमा उल्लेख छ ।
गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको थियो । तर अहिले त्योभन्दा पनि धेरै सङ्क्रमण दैनिक रुपमा देखिन थालेको छ । अमेरिकामा पछिल्लाे २४ धण्टामा १ लाख ७२ हजार ८ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ हजार ४ सय ६० जनाकाे मृत्यु भइसकेकाे छ ।
अहिलेसम्म अमेरिकामा १ कराेड २४ लाख ५० हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । त्यहाँ २ लाख ६१ हजार ७ सय ९० जनकाे काेराेनाबाटै ज्यान गइसकेकाे छ । अहिले अमेरिकाकाे धेरैजसो राज्यहरुमा सङ्क्रमण बढ्दो क्रममा छ । पछिल्लाे २४ घण्टामा सबैभन्दा बढी संक्रमित क्यालिफोर्नियामा नै भेटिएका छन् । शनिबार क्यालिफोर्नियामा १३ हजार २ सय ७८ संक्रमित फेला परेका छन् ।
अहिलेसम्म क्यालिफोर्नियामा ११ लाख ७ हजारभन्दा बढी संक्रमित फेला परेकाे छ भने १८ हजार ६७८ जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकाकाे राज्यहरूमध्ये काेराेना संक्रमित र मृत्यु हुनेमा क्यालिफोर्निया दाेस्राे स्थानमा रहेकाे छ । ११ लाख ७२ हजार संक्रमित र २१ हजार ८८ मृत्यु भएकाे टेक्सस् पहिलाे नम्बर रहेकाे छ ।