कोरोनाविरूद्ध अक्सफोर्डको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी
कोरोनाभाइरसविरूद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेन्कासँग मिलेर बनाइरहेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी देखिएको छ।
बेलायती समाचार पत्र द गार्डियनका अनुसार अष्ट्राजेन्काले सोमबार तेस्रो चरणको परीक्षणबाट आफ्नो भ्याक्सिनको प्रभावकारिता ७० प्रतिशत रहेको जानकारी दिएको छ। भ्याक्सिनको एउटा डोज ९० प्रतिशत र अर्को ६२ प्रतिशत प्रभावकारी भएकोले दुबैको प्रभावकारी मिलाउँदा ७०.४ प्रतिशत देखिएको बताइएको छ।
तर अक्सफोर्डले बनाएको यो भ्याक्सिन अहिलेसम्म तेस्रो चरणमा परीक्षण भएका भ्याक्सिनमध्ये सबैभन्दा कम प्रभावकारी देखिएको हो।
यसअघि अमेरिका फाइजर र मोडेर्ना कम्पनीले बनाएका भ्याक्सिन झन्डै ९५ प्रतिशत प्रभावकारी देखिएका थिए। रूसले पनि आफूले बनाएको स्पुतनिक भी भ्याक्सिन प्रभावकारी भएको दाबी गरेको छ।