कोरोनाले दुई दिनको फरकमा दम्पतीको मृत्यु
(सुनसरी) धरान उपमहानगरपालिका–१४ विजयपुरमा कोरोनाले दुई दिनको फरकमा पतिपत्नीको मृत्यु भएको छ । पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।
उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृत्यु भएको थियो । उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृत्यु भइसकेको थियो ।
त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिएकोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि पुर्याइए पनि खासै सुधार नभएपछि परिवारले घरै फर्काएको थियो । दम्पतीमा यसअघि कुनै पनि पुरानो स्वास्थ्य समस्या नरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।
यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा सिरहाको लहान–२ का ७० वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार पहिल्यैदेखि मधुमेहको समस्या रहेका ती व्यक्तिलाई कात्तिक १६ गते प्रतिष्ठानमा भर्ना गरिएको । उनलाई १७ गते कोरोना पुष्टि भएको थियो ।