मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
(काठमाडाैं) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौ प्रश्न उनको आलोचना गर्दै छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले थप उग्र रुप लिएकाे हाे ।
नेकपाभित्र विवाद बढिरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी छिन् । स्रोतका अनुसार मङ्गलबार राति राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन् ।
मङ्गलबारै राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष पुष्ष कमल दाहाल ‘प्रचण्ड’सँग लामो भेटवार्ता गर्नुभएकाे थियाे । करिब साँझ ६ बजेबाट सुरु भएको भेटवार्ता ८ बजे रातिसम्म चलेको थियो । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टी नफुटाउन र दुबै अध्यक्ष मिलेर जान सुझाएकी दिनुभएकाे थियाे । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेट्नु भएकाे थियाे ।
प्रचण्ड शीतल निवासबाट बाहिरिएलगत्तै राजदूत यान्छीले प्रवेश गरेकी स्राेतले बतायाे । यान्छी र राष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा छलफल भएकाे स्राेतकाे भनाइ छ ।
यान्छीको बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास प्रवेश गर्नुभएकाे थियाे । शनिबार साँझ पनि राष्ट्रपति र भण्डारीबीच करिब एक घण्टा छलफल भएको थियो । शीतलनिवास जानुअघि प्रधानमन्त्री ओलीले राजदूत यान्छीसँग पनि छलफल गर्नुभएकाे थियाे ।
मंगलबार राति नै प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र राजदूत यान्छीबीच पनि भेटवर्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र यान्छीबीच करिब डेढ घण्टा छलफल भएकाे स्राेतकाे भनाइ छ । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो ।
विवादले नेकपा गम्भीर मोडमा पुगेको बेला यान्छीकाे सक्रियता बढेकाे हाे । यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ । गत वैशाख पनि नेकपाकाे विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला पनि यान्छीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।