युरोपमा कोरोनाको दोस्रो लहरको आतङ्क
उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले जाडो मौसमका कारण कोरोनाबाट मर्नेको संख्या पहिलो लहरको दाँजोमा दोब्बर हुनसक्ने चेतावनी दिएका छन् । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि देशमा लकडाउन गर्दै चार हप्ताका लागि कडा प्रतिबन्ध लागु गरेको छ । बेलायतमा कुल संक्रमितको संख्या १० लाख नाघिसकेको छ । यहाँ दैनिक २० हजारभन्दा धेरैमा संक्रमण देखिन थालेको छ ।
त्यस्तै, रुसमा कोरोनाका कारण सोमबार एकैदिन १८ हजार २ सय ५७ वटा संक्रमणका घटना देखिएका छन् । यसमध्ये ४ हजार ७ सय ९६ जना राजधानी मस्कोका छन् । यहाँ कोरोना संक्रमितको संख्या १६ लाख ५० हजार नाघेको छ ।
इटलीमा पनि २४ नोभेम्बरदेखि सिनेमाघर, स्विमिङ पुल र जिम सेन्टर बन्द गर्न आदेश दिइएको छ । ग्रिसमा कोरोना संक्रमितको संख्या बढेसँगै दोस्रो ठूलो शहर थेसालोनिकीमा दुई हप्ताका लागि लकडाउन गरिएको छ । यता, अमेरिकामा पछिल्लो समय संक्रमित संख्या केही घटेको छ । यहाँ ३० अक्टुबरमा एकैदिन १ लाखभन्दा धेरै संक्रमित देखिएका थिए । पछिल्ला दुई दिन दैनिक ८७ हजारभन्दा कम संक्रमित भेटिएका छन् ।