रोल्पा प्रहरीमा कार्यरत् सईको कोरोनाका कारण मृत्यु
जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षकको कोरोनाका कारण बिहीबार मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सईलाई पिसिआर परीक्षणका क्रममा मंसिर ३ गते कोरोना पुष्टि भएको थियो । सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए । निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
दुई वर्षअगाडि सरुवा भएर रोल्पा गएका वैदिकले लामो समय प्रहरी चौकी जुँगारको इञ्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए । एक महिनाअगाडि मात्रै उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएका थिए। त्यसै क्रममा उनी बिरामी परेपछि उपचारका लागि बाँके पुगेको र उपचारकै क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त भएको रोल्पाका एक प्रहरी अधिकारीले जानकारी दिए ।