तातोपानी नाकाबाट पर्याप्त सामग्री आयात नहुँदा व्यवसायी मारमा
गत बिहीबारबाट पुनः तातोपानी नाका गत पुनः सुचारु भए पनि चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेको व्यवसायीले बताएका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ ।
एक चिनियाँ कन्टेनर सामानले नेपाल तर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर, नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो ।
चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरू मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए । समान ढिलो आउँदा स्याउलगायतका सामग्री कुहिन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताए ।
नाकालाई पूर्णरूपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्णरूपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीको माग गरेका छन् । भन्सार नाका पूर्ण रूपमा सञ्चालनमा नआँउदा व्यवसायी मर्कामा परेको नेपाल-चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।
अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रूपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए । उनले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताए ।
आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफूहरू मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए । नाका पूर्णरूपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसरसमेत वृद्धि हुने भएकोले छिटो नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न व्यवसायीले माग गरेका छन् ।