नेकपा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यको बैठक बोलाए
(काठमाडौं) नेकपा अध्यक्ष पुष्पकमल दाहालले आज पनि सचिवालयका बहुमत सदस्यको बैठक आह्वान गर्नुभएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब सिर्जना गर्न अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यको बैठक बोलाउनुभएको हो ।
अपराह्न ४ बजे धुम्बाराहीमा बहुमत सदस्यको बैठक बस्ने बैठकले विवाद समाधानका लागि यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई दिएको अल्टिमेटम सकिएपछि थप रोडम्याप तय गर्ने बुझिएको छ । यसअघि, गत शुक्रबार धुम्बाराहीमा सचिवालयका ५ सदस्यको बैठक बसेको थियो ।
उक्त बैठकले पार्टी सचिवालय बैठक बोलाउनका लागि सामूहिक रूपमा भेटेर ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसपछि दाहालसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
यसबीचमा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीको सन्देश लिएर मंगलवार बिहान खुमलटार जानुभएको थियो । त्यसक्रममा आजको बैठक नबस्न आग्रह गरिएको बुझिएको छ ।
बैठक बोलाउँदा थप विवाद बल्झिन सक्ने भन्दै केही दिन पर्खन पोखरेलले आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री निकट महासचिव पौडेल, लुम्बिनीका मुख्यमन्त्री पोखरेल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत दिनहुँ छलफल गरिरहेका छन् ।
यी नेताहरुले अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई भेटवार्ता गर्दै आएका छन् ।