बर्दाघाटमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु
पश्चिम नवलपरासीको बर्दाघाटमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । बर्दाघाट नगरपालिका वडा नम्बर ४ की ७० वर्षीया वृद्धाको बुधबार बिहान घरमै मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । मृतक महिला लामो समयदेखि दीर्घरोगबाट समेत पीडित हुनुहुन्थ्यो ।
उहाँले उच्च रक्तचाप र मधुमेहको नियमित औषधि सेवन गर्दे आउनुभएको पोखरेलले बताउनुभयो । बर्दाघाट नगरपालिकामा तीन दिनको अवधिमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सोमबार र मंगलबार उपचारका क्रममा बर्दाघाटकै दुई जना संक्रमितको मृत्यु भएको थियो । योसंगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संङ्ख्या १९ पुगेको छ ।
जिल्लामा हालसम्म १ हजार १ सय ६८ जनामा संक्रमण पुष्टि भएकोमा अहिले झन्डै २ सय जना संक्रिय संक्रमित छन् । उनीहरु अधिकांश होम आईसोलसनमा रहेका छन् ।