अनशनको २२ औं दिनमा केसीलाई भेट्न सरकारी टोली पुग्यो
(काठमाडौं) चिकित्सा क्षेत्रको सुधारका लागि २२ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीलाई भेट्न पहिलो पटक सरकारी टोली अनशनस्थलमा पुगेको छ।
शिक्षा सचिव गोपीनाथ मैनाली दुईजना सहयोगी लिएर केसीको अनशनस्थल त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन्। सचिव मैनालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को समयमा अनशन स्थगित गर्न केसीलाई आग्रह गरेका छन्।
डा. केसीले यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले समेत त्यही भनेको भन्दै त्यसका लागि दुःख नपाउन आग्रह गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सचिव मैनालीले सरकारले वार्ताका लागि अहिलेसम्म औपचारिक रुपमा वार्ता टोली गठन नगरेकाले अनशन तोड्न आग्रह गर्दा केसीले त्यसका लागि दुःख नपाउन अनुरोध गरेका हुन्।
सचिव मैनालीलाई डा. केसीले वार्ताका लागि सरकारले औपचारिक रुपमै वार्ता टोली पठाउनुपर्ने बताएका छन् । भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने, २०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्ने, त्रिवि चिकित्साशासत्र अध्ययन संसथामा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउनुपर्र्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने र भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्नुपर्ने प्रमुख ६ वटा माग राखेर जुम्लाबाट १९ अैँ अनशन सुरु गरेका हुन् ।