दुर्घटनामा सशस्त्रका असइको मृत्यु
(विराटनगर) मोरङको बूढीगंगा गाउँपालिका–१ घर भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ)को दुर्घटनामा परेर मृत्यु भएको छ । सशस्त्रका असइ ४२ वर्षीय कमलप्रसाद तावाहाङको कोशी राजमार्ग अन्तर्गत बूढीगंगा–१ टंकीसिनवारीमै दुर्घटनामा परेर ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार पाँचथरमा कार्यरत तावाहाङ केही दिनदेखि घर विदामा थिए । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । पैदल हिँडिरहेका बेला राति ९:४० बजेतिर दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।
टाउकोलगायत शरीरका विभिन्न भागमा चोट रहेका तावाहाङको उपचारका क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको डीएसपी कार्कीले बताए । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँको खोजी जारी रहेको जानकारी उनले दिए ।