भक्तपुरमा जग्गा किन्ने बहानामा कुटपिटपछि लुटपाट गर्ने तीन पक्राउ
भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका-८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिट पछि उनीहरूले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर भागेका थिए ।
कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो । महाशाखाका अनुसार शेर्पाले योन्जनसँग पैसा लिन बाँकी थियो ।
'उनीहरूका अनुसार १५-१६ लाख लिन बाँकी थियो। तर पुष्टि हुन बाँकी नै छ,' महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने,'मृतकलाई थाहा थियो तर परिवारसँग सोध्न बाँकी छ। थाहा नहुन पनि सक्छ।' रकम दिन आनाकानी गरेको हुँदा शेर्पाले चन्द्र बहादुर योञ्जनलाई कुटपिट गरेर भए पनि रकम असुल्न खोजेका थिए। त्यसको लागि उनले रमेश तामाङको सहयोग लिए ।
कुटपिट गर्नको लागि उनीहरूले असोज १८ गते योन्जनको घर पहिचान गरी फर्किए। घर पहिचान गरेपछि उनीहरूले कुटपिट गर्ने योजना बनाएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।