यतीको सिमरा उडान सुरु, भाडादर २ हजार
यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ ।
कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश २ मा दोस्रो गन्तव्य हो ।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौंलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ ।
आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । यतीले हालका लागि प्रमोसनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।
केही दिनअघि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।
वि.सं. २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटीआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एयरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा छन् ।
यती एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।