प्राविधिक शिक्षा पढ्नेले पनि पाउँछन् उच्च शिक्षाको सुविधा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले ३ वर्षे डिप्लोमा तथा प्रविणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसीका कार्यक्रममा विद्यार्थीको संख्या बढ्न थालेको जनाएको छ । सिटिभिटीका अनुसार, प्राविधिक एसएलसी तहमा २८, डिप्लोमा तहमा ४८ कार्यक्रम तथा २०० विषयमा छोटो अवधिका कार्यक्रम गरी हाल ४ सय ७६ कार्यक्रम अहिले सञ्चालनमा छन् ।
पहिले सिटिभिटीको अध्ययनपछि उच्च शिक्षा हासिल गर्न नपाइने बुझाइमा कम विद्यार्थी देखिने गरे पनि यस विषयमा प्रष्ट हुन थालेपछि विद्यार्थी सङ्ख्या बढ्न थालेको सिटिभिटीले जनाएको छ ।
प्राविधिक एसएलसी तहमा अध्ययन गर्नका लागि एसइइ वा सो सरह उत्तिर्ण भएका व्यक्तिहरू योग्य हुन्छन् । त्यस्तै परिषद्का आंगिक तथा सम्बन्धन प्राप्त निजी शिक्षालय र कलेजले संचालन गरेका ३ वर्षे डिप्लोमारप्रमाणपत्र तहका कार्यक्रमहरूमा भर्नाका लागि केही योग्यता आवश्यक हुन्छ ।
यसैगरी डिप्लोमा तहमा कृषि, फुड र डेरी टेक्नोलोजी र फरेस्ट्री कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सी र कुनै एक विषयमा न्युनतम डी प्लस ग्रेड ल्याउनु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै डिप्लोमा इन होटल मेनेजमेन्ट, उद्यमशिलता विकास कार्यक्रम र सोसल वर्कको लागि अंग्रेजी, विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड ल्याउनु पर्छ ।
उच्च शिक्षाका लागि सिटिभिटीको बाटो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले हालसम्म प्राविधिक एस.एल.सी. (टि.एस.एल.सी) तह र तीन बर्षे डिप्लोमा र प्रमाणपत्र तहका कोर्षहरू सञ्चालन गरेको छ । टिएसएलसी पास गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह) को रोजगारीको लागि योग्य मानिन्छ । तीन बर्षे डिप्लोमाका विविध कोर्षहरू पास गरेका विद्यार्थीहरू सरकारी सेवामा राजपत्रअनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा वा सो सरह)को लागि योग्य मानिन्छन् ।
तीन बर्षे डिप्लोमाका विविध कोर्षहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्षहरू पूरा गरेका विद्यार्थीले उच्च शिक्षा (व्याचलर डिग्री) हासिल गर्न आ–आफ्नो विधा अनुसार कतै सिधै र कतै केही पूर्व अवस्था पूरा गर्नुपर्ने हुन्छ । हालसम्म परिषद्ले आफ्नै व्याचलर्स डिग्री कोर्षहरू सञ्चालन गरेको छैन ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ले नेपलामा स्वास्थ्य, इन्जीनियरिङ, कृषि पशुपालन, होटल म्यानेजमेन्ट तथा सुचना प्रविधि लगायतका विषयहरूमा प्राविधिक एसएलसी र डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरू सञ्चालन गर्छ ।