पोखरामा कोरोना संक्रमितको नि:शुल्क उपचार नहुने भयो
गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार नि:शुल्क गर्ने बताए पनि पोखरामा भने शुल्क लाग्ने भएको छ ।
प्रदेशको कोरोना विशेष अस्पतालका रूपमा सरकारले वर्गीकरण गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले लक्षित वर्गबाहेक अरूको सम्पूर्ण उपचारको शुल्क लाग्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार उक्त अस्पतालमा उपचार गर्न पुगेका बिरामीको उपचारको सम्पूर्ण खर्च स्वयं बिरामीले तिर्नुपर्ने अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्य आचार्यले बताए। मन्त्रालयको निर्णय अनुसार नै शुल्क अस्पतालले शुल्क लिने निर्णय गरेको उनको भनाइ छ ।
बिरामीले खाना, खाजालगायत सम्पूर्ण व्यवस्था बिरामी स्वयंले गर्नुपर्ने भन्दै निर्देशक आचार्यले जारी गरेको सुचनामा भनिएको छ, ‘खाना, खाजा स्वंय व्यवस्थापन गर्न असमर्थ भए अस्पतालको क्यान्टिनबाट नगद धरौटी राखी उपलब्ध हुने व्यहोरो जानकारीका लागि अनुरोध छ।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्ने गण्डकी प्रदेशकै पहिलो प्रयोगशाला हो । सरकारले उक्त अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेपछि सोही अस्पतालमा आइसोलेसन कक्ष, बिरामीका लागि २ वटा भेन्टिलेटर र ६ बेडको आइसियूसमेत बनाएको थियो ।