एक सय किलो गाँजासहित दुई पक्राउ
एक सय किलो अवैध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका १ मनहर्वामा कमला नहर हुँदै जाँदै गरेको ट्याक्टरलाई आइतबार राति चेकजाँचको क्रममा एक सय किलो अवैध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोलीले अवैध गाँजा लिएर जादै गरेको सूचनाका आधारमा ना ५ त १४ नम्बरको ट्याक्टरलाई चेकजाँच गरेको थियो । ट्याक्टरमा प्लास्टिकमा प्याक गरेको तीन वटा ठूलो पोका र दुई वटा सानो पोकामा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताए ।
प्रहरीले गाँजासँगै ट्याक्टर चालक मिर्चैया नगरपालिका १ का १९ वर्षिय सुन्दर कापर र २६ वर्षिय जितेन्द्र महतोलाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसंधान थालिएको डिएसपी जैसवालले बताए ।