चिनियाँ अर्थतन्त्र तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो
संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढेको छ ।
चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो । कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो । सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो वर्षको तुलनामा घटेको त्यो पहिलो पटक थियो ।
त्यसलगत्तै अर्को त्रैमासमा भने चिनियाँ अर्थतन्त्रले सुधारको गति समातेको थियो। दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ३.२ प्रतिशतले बढेको थियो ।
कोरोना महामारीले संसारका ठूला अर्थतन्त्र लगातार ओह्रालो लागिरहेका बेला चीनले कोरोनालाई नियन्त्रणमा लिँदै अर्थतन्त्रलाई चलायमान बनाएको हो । यद्यपी तेस्रो त्रैमासको यो वृद्धि विश्लेषकहरूले गरेको अपेक्षाभन्दा केही कम भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । विश्लेषकहरूले तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ५.५ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।