अधिकांश बलात्कारका घटना आफन्तबाटै
घटना–१
७ असोजमा बझाङ मस्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो । घरबाट केही टाढा रहेको गाईjस्तुको गोठमा घाँस हाल्न हिँडेकी सम्झनालाई छिमेकी २० वर्षीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेका थिए ।
उनको शव सोही राति शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो । राजेन्द्रले सम्झनाले लगाएकाे सुनकाे मुन्द्री पनि लुटेका थिए । प्रहरीले बलात्कार र हत्या गर्ने राजेन्द्रलाई पक्राउ गरिसकेको छ ।
विभिन्न अपराधमा संलग्न हुँदै आएका राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणीको जाहेरी परेको छ । उनीमाथि अनुसन्धान जारी रहेको बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काकाे भनाइ छ ।
घटना–२
भक्तपुरमा पनि एक किशोरी शुक्रबार बसभित्रै सामूहिक बलात्कारमा परिन् । १७ वर्षीया ती किशोरीलाई बा३ख २६१२ नम्बरको मिनीबसमा रत्नपार्कबाट लिएर गई सूर्यविनायक पुगेपछि सामूहिक बलात्कार गरेको खुलेको थियो ।
बलात्कार अभियोगमा भक्तपुर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १० का २२ वर्षीय निरकुमार खड्का र सिन्धुपाल्चोककै जुगल गाउँपालिका–४ का २१ वर्षीय सूर्य श्रेष्ठ छन् ।
किशोरीलाई लट्ठिने औषधि खुवाएर १६ भदौमा सुरुमा एक जनाले रत्नपार्कबाट ल्याएर बलात्कार गरेको र त्यसपछि पक्राउ परेका दुई जनाले भक्तपुर चाँगुनारायण–८, तवियाखुसी खोलाको किनारमा पार्किङ गरी राखेको बा३ख२६१२ नम्बरको बसभित्र बलात्कार गरेको खुलेको भक्तपुर प्रहरी प्रमुख एसपी तारा थापाको भनाइ छ ।
पछि बलात्कार गर्ने दुई जना पक्राउ परे पनि सुरुमा लट्ठिने औषधि खुवाएर भक्तपुर पुर्याउने एक जना भने अझै फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।