बालकुमारीमा दुई जनालाई ठक्कर दिएर भागेको गाडी सानेपामा भेटियो
ललितपुरको बालकुमारीमा दुई जनालाई ठक्कर दिएर भागेको गाडी सानेपामा भेटिएको छ ।
बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। जसको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका छन् ।
प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले ठक्कर दिएर भागेको हो। सो गाडीलाई महानगरीय प्रहरी परिसर, ललितपुरले सानेपाबाट नियन्त्रणमा लिएको छ । साथै, त्यसका चालकलाई पनि पक्राउ परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङले जानकारी दिए । पक्राउ पर्नेमा भक्तपुर डेरा गरी बस्ने ३२ वर्षीय कुवेर खड्का छन् ।
उनले चलाएको बोलेरोको ठक्करबाट महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको थियो ।
त्यस्तै, उनीसँग मर्निङ वाकमा निस्किएका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन्। उनको उपचार ललितपुरको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरू दुवै जनाले बालकुमारीस्थित आकाशेपुल मुनिबाट बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।
पक्राउ परेका चालकमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।