कोरोनाबाट धादिङबेसीका युवकको मृत्यु
(धादिङ) धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीका एक २२ वर्षीय युवकको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको छ । असोज २२ गते कोरोना पुष्टि भएका ती युवकलाई थप उपचारका लागि काठमाडौंको सुमेरु अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार ती युवकलाई अत्यधिक ज्वरो आएका कारण उपचारको लागि काठमाडौं पठाइएको थियो । संक्रमित युवकको काठमाडौंमै उपचारको क्रममा मृत्यु भएको हो । उनी कमलपित्त रोगबाट ग्रसित थिए ।
योसँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । नीलकण्ठमा मात्रै ३ जनाको मृत्यु भएको छ । धादिङमा जम्मा कोरोना संक्रमितको संख्या ६ सय १८ पुगेको छ भने निको हुनेको कुल संख्या ३ सय ८३ पुगेको छ । धादिङमा हाल सक्रिय कोरोना संक्रमितहरुको संख्या २ सय २० जना रहेको छ । धादिङमा ३ सय १५ बेड क्षमताको क्वारेन्टाइन र १ सय ३७ वेड क्षमताको आइसोलेसन रहेको छ ।