निषेधाज्ञा उल्लंघन भएपछि खलंगामा सेना परिचालन
दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा उल्लंघन हुन थालेपछि प्रशासनले सेना परिचालन गरेको छ ।
सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो । खलंगा बजारको एक ठाउँमा तीन सातादेखि निषेधाज्ञा छ । अर्को ठाउँमा पनि संक्रमण बढेपछि सातायता निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार पसल खोल्ने, मानिसहरू हिँडडुल गर्ने र सामाजिक दूरीसमेत कायम नहुने भएपछि सेना परिचालन गरिएको हो । ‘निषेधाज्ञा उल्लंघन हुने क्रम बढेपछि मानिसहरूमा मनोवैज्ञानिक रूपमा सजग गराउन सेनाले गस्ती गरेको हो,’ पोखरेलले भने ।
खलंगा बजारमा करिब सय जनामा कोरोना संक्रमण छ । जिल्लामा अढाइ सय संख्यामा कोरोना संक्रमित छन् ।