२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि
बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।