विराटनगरमा उपचाररत थप दुई संक्रमितको मृत्यु
(विराटनगर) विराटनगरमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप दुई जनाको मंगलबार मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पताल र मोरङ सहकारी अस्पतालमा उपचार गराइरहेका एक वृद्ध पुरुष र अर्की वृद्धा महिलाको ज्यान गएको हो। मृतकमध्ये वृद्ध सुनसरी इटहरी र वृद्धा मोरङको रंगेलीका हुन् ।
इटहरी उपमहानगरपालिका-८ का ६५ वर्षीय वृद्ध पुरुषको दिउँसो ३ बजेतिर नोबेलमा मृत्यु भएको हो। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका उनलाई उपचारका लागि असोज २९ गते अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरिएको उनको भनाइ छ। उपचारकै क्रममा वृद्ध पुरुषको मृत्यु भएको हो ।
त्यस्तै मोरङको रंगेली नगरपालिका-३ की ८१ वर्षीया वृद्धा महिलाको पनि बिहान ११ बजेतिर मोरङ सहकारी अस्पतालमा मृत्यु भएको छ। ज्वरो आउने, रिंगाटा चल्ने र वान्ता हुने समस्या देखिएपछि वृद्धालाई उपचारका लागि असोज २७ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा गत आइतबार रिपोर्ट पोजिटिभ आएको परिवारले जनाएको छ । वृद्धमा दमको पुरानै समस्या रहेको र पछिल्लो समय निमोनिया पनि थपिएको अस्पतालले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टाभित्र विराटनगरमा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ । कोरोना पुष्टि भएपछि उनीहरुको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।