युरोपमा कोरोना भाइरसले दैनिक मृत्यु गत साताकाे भन्दा ४० प्रतिशतले बढ्यो
युरोपेली देशहरूमा कोराेना भाइरस (काेभिड- १९) का कारण मृत्यु हुनेकाे सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ।
बिबिसीका अनुसार सङ्गठनकी प्रवक्ता डा मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । त्यहाँ पुनः मृत्युदर बढ्दै गएकाे उनकाे भनाइ छ । ‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्,’ उनले धेरैले ज्यान गुमाउन सक्नेतर्फ सचेत गराइन् । पछिल्लाे एक दिनमा रुसमा ३२० संक्रमितकाे मृत्यु भएकाे छ, जुन त्यहाँ अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हाे । अहिलेसम्म त्यहाँ कोभिडका कारण २६ हजार ५८९ जनाको मृत्यु भइसकेको छ ।
उता इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ । त्यहाँ पछिल्लाे २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन् । यसैगरी फ्रान्समा मंगलबार ५२३ जना र स्पेनमा २६७ जनाले ज्यान गुमाएकाे जनाइएकाे छ । यसैगरी बेलायतमा मंगलबार ३६७ जनाले ज्यान गुमाएका छन् ।
वर्ल्डाेमिटर्सका अनुसार युराेपमा मात्रै पछिल्लाे एक दिनमा २ हजार ७५७ जनाले ज्यान गुमाएका छन् भने २ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी फ्रान्समा रहेका छन् । त्यहाँ मंगलबार एकै दिन ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएकाे छ ।
उता बेलायतमा पनि मंगलबार २२ हजार ८८५ संक्रमित थपिएका छन् भने इटलीमा पनि करिब २१ हजार ९९४ नयाँ सङ्क्रमित देखिएका छन् । अहिले इटलीमा परीक्षणलाई बढाइएको छ भने थप प्रतिबन्धहरू लागू गरिएकाे छ । सोमबार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए ।
यसैगरी बेल्जियममा पनि अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ ।