भारत लगेर २० वर्षीया महिला बेचेको आरोपमा काठमाडौंबाट एक पक्राउ
नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको हो ।
उनी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका थिए। प्रहरीका अनुसार उनले २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधा सहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए ।
शक्ति समूह नामक संस्थाले ती महिलाको गत वर्ष भदौ ५ गते उद्दार गरी नेपाल ल्याएको थियो। नेपाल फर्किएकै दिन ब्युरोमा उजुरी परेको प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले जानकारी दिए । ती महिला अहिले सोही संस्थाको संरक्षणमा छिन्। यता तामाङमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालत लगेको छ ।
यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको एसपी द्विबेदीले बताए। तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान अघि बढाइनेछ ।