घाँटी रेटिएको अवस्थामा असईको शव फेला पर्यो
कैलालीमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ । अर्का प्रहरी जवान बेपत्ता छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो ।
प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ । ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो । खोज्दै जाँदा प्रहरीले आइतबार बिहान एउटा शव मोहना नदी किनारमा भेटाएको थियो ।
'त्यो असईसाबको शव भएको पहिचान भएको छ । उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोट लागेको छ,’ कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले भने । बेपत्ता जवानको खोजी भइरहेको छ । खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ ।
घटनास्थल नेपाल-भारत सीमामा पर्छ । असई तस्करी नियन्त्रणमा आक्रामक रूपमा काम गर्दै आएका थिए । ‘यो घटना तस्करहरूले घटाएको प्रारम्भिक बुझाइ हाम्रो छ,’ प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने ।