भीम रावल : पार्टी निर्णय उल्लंघन गर्दै रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच भएको भेटबारे पार्टीलाई जानकारी गराउनुपर्ने बताएका छन्।
कात्तिक ६ गते प्रधानमन्त्री ओलीलाई भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा ६ गते राति दुई जनाबीच ३ घन्टा छलफल भएको थियो।
रावलले यसबारेमा स्थायी कमिटीमा छलफल हुनपर्ने बताए।
'नेकपाको स्थायी कमिटी बैठकमा कुनै पनि राष्ट्रिय विषयका संवेदनशील मुद्दामा पार्टीमा छलफल गर्ने, साझा धारणा बनाउने र त्यो धारणाअनुसार सरकार अगाडि जाने सहमति भएको थियो। त्यसलाई अन्तर पार्टी निर्देशनमा समेत पठाइएको थियो। तर अहिले पार्टी निर्णयको उल्लंघन भएको छ,' रावलले भने,'स्थायी कमिटीको निर्णय उल्लंघन भएपछि र राष्ट्रिय संवेदनशील विषयमा यस्तो कुरा बाहिर आएपछि स्थायी कमिटी बैठक बस्छ भन्ने मलाई विश्वास छ। पार्टीका अध्यक्षहरूले बैठक बोलाउनु पर्छ। ती कुरा हामीलाई जानकारी गराउनु पर्छ र हाम्रा कुरा पनि सुन्नु पर्छ।स्थायी कमिटीको निर्णय किन उल्लंघन भयो त्यो पनि प्रष्ट पार्नुपर्छ।'
बालुवाटारमा भएको भेटलाई कूटनीतिक र राजनीतिक दृष्टिकोणले गलत भन्दै उनले त्यो भेट नेपालको संविधानले गरेको मार्गनिर्देशन र नेकपाको घोषणा, नीति र सिद्धान्तको समेत विरूद्धमा रहेको बताए ।
उनले गोयललाई भारतीय प्रधानमन्त्रीको विशेष दूत भन्न नमिल्ने दाबी गरे । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गोयल भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा आएको भनेर सार्वजनिक रूपमा बताइसकेका छन् ।
'जहाँसम्म भारतीय प्रधानमन्त्रीको विशेष दूत भएर उहाँ आएको भनिएको छ। त्यस्तो भएको भए भारतीय विदेश मन्त्रालय वा भारतको कुनै सरकारी निकायले भारतले हाम्रो विशेष दूत नेपाल जाँदैछ भनेर कुनै प्रेस नोट, विज्ञप्ति, सूचना जारी गरेको छैन,' रावलले भने,' प्रधानमन्त्रीका प्रेस सल्लाहकारले शिष्टाचार भेट भन्ने अनि परराष्ट्र मन्त्रीले विशेष दूत भएर आउनुभएको भन्नुले नै दोहोरो कुरा देखिएको छ। ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो।'
दुई देश बीच सम्बन्धमा समस्या उत्पन्न भएको बेलामा अनौपचारिक रूपमा शान्त कूटनीतिअनुसार कुराकानी हुन सक्ने भए पनि यो भेटघाट गलत रहेको उनले बताए।
भारतको गुप्तचरको मान्छेले आएर भारतको यो धारणा हो भनेर भनेको भए स्वभाविक हुन सक्ने उनको भनाइ छ।
राणाकालदेखि अहिलेसम्म कूटनीतिक रूपमा यसरी राति राति वार्ता गरिएको पहिलो घटना भएको समेत रावलको जिकिर छ। विशेष दूतको रूपमा गुप्तचर कहीँ पनि नजाने भन्दै उनले गुप्तचरको कामै गुप्त रूपमा गर्ने रहेको बताए।
नेपालमा राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्नुपर्छ, सुक्ष्म व्यवस्थापन गर्नु हुदैन भनेर कतिपय भारतीय कूटनीतिज्ञले समेत भनिरहेका बेला त्यो प्रक्रियामाथि पनि प्रहार भएको रावलको तर्क छ। यो नेपालको स्वाधिनता, स्वाभिमान, कूटनीतिक मर्यादा र स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रहार भएको भन्दै रावलले फेरि द्वन्द्वकालीन र शान्ति प्रक्रियाकालीन समयमा फर्किन खोजिएको बताए।
पार्टीका समस्या समाधान गर्न कार्यदल बनेर आएको प्रतिवेदन अनुसार सचिवालय हुँदै स्थायी कमिटीले गरेका निर्णय उल्लंघन भएको रावलको ठहर छ। राजनीतिक नियुक्ति लगायतका निर्णयमा समेत पार्टी निर्णयलाई बेवास्ता गरिएको रावलले बताए।
स्थायी कमिटीले गरेको निर्णयअनुसार चल्नु पर्ने भन्दै उनले पार्टी निर्णयविपरीत भएका कुरालाई सच्याउनु पर्ने र आगामी दिनमा नदोहोरिने प्रतिवद्धता जनाउनु पर्ने बताए।