मिटर रिडिङ नगरी जरिमाना असुल
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिमाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ ।
उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिमानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए ।
विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ ।
विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिमाना तिर्न बाध्य भएका छन् ।
प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिमानासमेत गरी तिर्नुपरेको उनीहरूको गुनासो छ ।
यो त उदाहरणका पात्र मात्र हुन् । लालबन्दीमा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीका कारण वितरण केन्द्र माताहतका अधिकांश बिजुली उपभोक्ता समस्यामा परेका छन् ।
सरकारले लकडाउनको समयमा विद्युत् महशुलको जरिमाना नलिन भनेको भए पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिमाना असुल्ने गरेको गुनासो आएको हो ।
सुरुसुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए ।
पहिलाको निर्णयअनुसार ६ असोजपछि जरिमाना लिने भनिएको र सोहीअनुसार जरिमाना लिएको तर फेरि विद्युत् प्राधिकरणले २२ असोजसम्म जरिमाना नलिने निर्णय गरेपछि बीचमा लिएको जरिमाना खपत युनिटबाट घटाउने विद्युत् प्राधिकरणले निर्णय गरेको वितरण केन्द्रका प्रमुख रायले बताए ।