विभिन्न कार्यक्रम गरी आज दृष्टि दिवस मनाइँदै
आज आठ अक्टोबर अर्थात् विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईंदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए । आँखामा सानो हेलचेक्रयाई गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिस डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उनको भनाई छ ।
मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसले आँखाको उपचार नियमित रूपमा गर्नुपर्ने डा. खड्काले बताए । नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका विरामीले विशेष ख्याल गर्नुपर्ने बताए ।
मधुमेह भएका बिरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगयतका समस्या देखिने गरेको उनले बताए । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका बिरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताए ।