खतिवडा राष्ट्र बैंकको स्वायत्तता खोसेको आरोप बोकेर बाहिरिए
(काठमाडौं) केन्द्रीय बैंकको गभर्नर भइसकेको व्यक्ति अर्थमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गर्न लाग्दा बैंकिङ क्षेत्र हौसिएको थियो । बैंकिङ क्षेत्रमा भएका बेथितिहरु हटाउन र यो क्षेत्रलाई सवल बनाउनका उनीबाट ठोस योगदानको अपेक्षा बैंकर्सले गरेका थिए ।
साढे दुई वर्ष सिंहदरबारमा बिताएर अर्थमन्त्री डा. युवराज खतिवडा अब घर फर्किएका छन् । आफ्नो कार्यकालमा उनले बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखेका थिए । तर, राष्ट्रबैंकमा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको भनेर त्यहाँका केही उच्च अधिकारीहरु उनीसँग सन्तुष्ट थिएनन् । डा. खतिवडाले राष्ट्रबैंकको स्वायत्तता नै खोसेको कतिपयको आरोप छ ।
राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाइँ डा. रामशरण खरेलको फास्टट्रयाकबाट बढुवा गराएको भनेर खतिवडाले आलोचना बेहोर्नुपर्यो । ज्वाइँलाई खतिवडाले मन्त्रालयमै हाजिर गराएर राष्ट्र बैंकबाट तलब खाने व्यवस्था मिलाए । अर्थमन्त्री विदा हुँदासम्म पनि खरेल अर्थमन्त्रालयमै हाजिर हुँदै थिए । खतिवडाको बहिगर्मनपछि भने उनी राष्ट्र बैंक हाजिर हुनुपर्ने छ ।
यही कारणले खतिवडा माथि नातावादलाई प्रश्रय दिएको आरोप लाग्यो । साथै उनले राष्ट्रबैंकका काम-कारवाहीहरुमा अंकुश लगाएर यसलाई अर्थमन्त्रालयको अंगका रुपमा व्यवहार गरेको कतिपयको बुझाइ छ ।