दिनको २ सय रूपैयाँमा होम आइसोलेसन 'केयर' प्याकेज
पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिए तुरून्तै अस्पताल भर्ना हुनु पर्दैन। कोरोना पोजिटिभ देखिएको तर स्वास्थ्यमा कुनै समस्या नभए घरै बसेर रोग जित्न सकिन्छ। यसरी कोरोना जित्नेको संख्या दिनहुँ बढ्दो छ। तर संक्रमितले आइसोलेसनमा बस्ने र सावधानीका उपाय भने अपनाउनु पर्छ। तर आइसोलेसन बस्दा अपनाउनु पर्ने सावधानी, स्वास्थ्य सुधार सम्बन्धी जानकारी साथै मानसिक तनावबाट कसरी छुट्कारा पाउने जस्ता जिज्ञासा हुन सक्छन्। यस्तो अवस्थामा मान्छे शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा समेत सचेत र स्वस्थ हुनु आवश्यक छ।
घरैमा आइसोलेसन बस्दा आइपर्न सक्ने समस्या समाधानका निम्ति तपाईंलाई 'डाँफे केयर' ले सहयोग गर्न सक्छ।
डाँफे केयर कार्यक्रम संयोजक फार्मेसिस्ट कविन मलेकूका अनुसार यो कार्यक्रम डाँफे हेल्थ कम्पनी अन्तर्गतको 'होम आइसोलेसन सेवा' प्रदान गर्न सुरू भएको हो। कम्पनीले विभिन्न ६ चरणमा रहेर बिरामीलाई सेवा पुर्याउने बताएको छ। 'हामीले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई टेलिमेडिसिन साथै भर्चुअल काउन्सिलिङको सेवा पुर्याउँदै छौं,' कार्यक्रम संयोजक कविनले भने, 'होम आइसोलेसनमा आवश्यक जुनकुनै समस्या समाधान अथवा जानकारी चाहिएमा बिरामीले डाँफे केयरसँग सम्पर्क राख्न सक्नुहुन्छ।'
कविनका अनसार डाँफे हेल्थले एक दशकयता स्वास्थ्य क्षेत्रमा प्राविधिक हिसाबले सहयोग पुर्याउँदै आएको छ। कोरोना महामारी समयमा भने 'डाँफे केयर' कार्यक्रमसँगै भाइरस नियन्त्रण तथा उपचारमार्फत आफ्नो दायरा बढाइरहेको उनले बताए।
कार्यक्रमले कोरोना संक्रमितका लागि तीन तहमा सहयोग र परामर्श दिइरहेको छ। यसले शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा सहायता पुर्याइरहेको उनी बताउँछन्।
कसरी लिने डाँफे केयरको सेवा?
कविनका अनुसार डाँफे केयरको सेवा लिन कोरोना पोजिटिभ व्यक्तिले सुरूमा एउटा फारम भर्नुपर्ने हुन्छ। जसमा व्यक्तिगत विवरण अनिवार्य हुन्छ। विवरणमा संक्रमित एक्लै बस्ने हो वा परिवारसँग बस्ने जानकारी लिइन्छ। सोही अनुरूप संक्रमितलाई सल्लाह र सुझाव दिइन्छ।