उपत्यकामा कर्फ्यू लगाउन मेयरहरूको सुझाव
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कर्फ्यू लगाउनपर्ने निष्कर्ष निकालेको छ।
बुधबार भएको उपत्यका फोरमको भर्चुअल बैठकले उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने देखिएकाले कर्फ्यूसम्म गर्नुपर्ने निष्कर्ष निकालेको हो।
यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझाव समेत दिएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मध्यपुर नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताए।
'निषेधाज्ञाले मात्रै नियन्त्रण हुन सकेन। निषेधाज्ञाको माथिल्लो तहमा लैजाने भनेको कर्फ्यू नै हो। बिहान ९ बजेसम्म किनमेल गर्न पाउने भनेको कारण मान्छेहरू मर्निङ वाक र इभिनिङ वाक समेत गर्न थालेका छन्,'श्रेष्ठले भने,'संक्रमणको दर बढ्दै गएको छ। संक्रमितहरू सबैलाई आइसोलेसनमा राख्न सकिएको छैन ।संक्रमणको दर घटाउनका लागि यो प्रयास भएको हो।'
कर्फ्यू भनेपछि मान्छे हिँडडुल गर्न डराउने र कारबाही समेत गर्न मिल्ने भएकाले छोटो अवधिका लागि यस्तो गर्न जरूरी रहेको उनले बताएए।