चितवनमा कोरोना संक्रमणको नालीबेली
(चितवन) पछिल्लो समय चितवनमा कोरोना संक्रमण ज्यामितीय रुपमा बढेको छ । गत साउन २४ गतेसम्म जिल्लामा कोरोना संक्रमित संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ थियो । तर, यसको झण्डै २२ दिनपछि चितवनमा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ ।
कोरोनाबाट स्वास्थ्यकर्मी, बालबालिका, बिरामी, वृद्धवृद्धासमेत संक्रमित हुन थालेका छन् । संक्रमणबाट जिल्लाका अस्पतालहरूमा बिरामीहरूको संख्या बढिरहेको छ । विगतभन्दा पछिल्ला दिनमा गम्भीर प्रकृतिका बिरामी थपिँदा अस्पतालको आईसीयू तथा भेन्टिलेटर भरिने अवस्थामा पुगेको छ ।
साउन २४ पछि मात्रै यस जिल्लामा १५ जना कोराना संक्रमितको मृत्यु भएको छ । अझै पनि गम्भीर प्रकृतिका बिरामीहरु आइसियू र भेन्टिलेरमा उपचारत छन् । संक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै छ ।
संक्रमण समुदायमा पुगेकोले नमूना परीक्षणको चापसमेत प्रयोगशालामा थपिन थालेको छ । भरतपुर अस्पताल मातहतमा भरतपुर कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेज कलेजको प्रयोगशालामा नमूना परीक्षण हुँदै आएको छ । भरतपुर कोभिड प्रयोगशालामा म्यानुअल विधिबाट नमूना परीक्षण हुन्छ ।
दैनिक औसत ३५० सम्म नमूनाहरु यहाँ परीक्षण हुँदै आएको छ । चितवन मेडिकल कलेजमा अटोमेटिक विधिबाट नमूनाको परीक्षण हुन्छ । दैनिक औसत दुई सयको हाराहारीमा परीक्षण हुँदै आएको छ । संक्रमित थपिँदा कन्ट्याक ट्रेसिङ्ग बढ्ने र एकजना संक्रमित बराबर झण्डै चालिस जनासम्मको नमूना संकलन गरी परीक्षण गर्नुपर्ने हुँदा निश्चित क्षमता र जनशक्तिको प्रयोगशालामा निकै चाप परेको छ । अधिक चाप भएपछि काठमाडौं टेकु र काभ्रेमा समेत लगेर चितवनको नमूना परीक्षण गरिएको थियो ।
जिल्लामा संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले गएको साउन ३२ गते मध्यरातबाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा दुईपटक एक एकसाताका लागि थप गरे पनि संक्रमणमा भने कमी आएको छैन । अहिले देखिएको संक्रमण साउन ७ गतेपछि लकडाउन खुल्दाको परीणाम भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् । उनले यतिबेला समुदायमा कोरोना फैंलिएकोले संक्रमणको स्रोत पत्ता लगाउन नै मुस्किल परेको बताए ।
प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा भदौ १९ गते रातिबाट सकिँदैछ । जिल्लामा निषेधाज्ञा जारी गरेर पनि संक्रमणको संख्यामा तुलानात्मक रूपमा कमी नआएको तथा अन्य आर्थिक क्षेत्र तहस-नहस भएको भन्दैं जिल्लाका उद्योगी व्यससायी तथा विभिन्न पेशागत संघसंस्थामा आवद्ध व्यक्तिहरूले निषेधाज्ञा भदौ १५ गतेबाट नै हटाउन माग गर्दै आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।