काठमाडौंमा २५ सयमात्रै आइसोलेसन बेड तयार
काठमाडौंमा छ हजार आइसोलेसन बेड बनाउने निर्णय गरेको सरकारले अहिलेसम्म दुई हजार पाँच सय बेड मात्रै तयार गरेको छ।
गत भदौ ४ गते मन्त्रिपरिषद बैठकले छ देखि १० हजारसम्म आइसोलेसन बेड बनाउने निर्णय गरेको थियो। उक्त निर्णय भएको दुई साताभन्दा धेरै समय भइसक्दा पनि निर्णयअनुसार तीव्र गतिमा आइसोलेसन बेड तयार गरिएका छैनन्।
अहिलेसम्म काठमाडौंमा दुई हजार पाँच सय बेड तयार छन्। जबकी सरकारले घोषणा गर्नुअगाडि नै काठमाडौंमा एक हजार बेड क्षमताका आइसोलेसन वार्ड तयार थिए। काठमाडौं ललितपुर र भक्तपुरमा गरि एकीकृत आइसोलेसन बेड बनाउने भने पनि सरकारले आफ्नै प्रतिबद्धता अनुसारको काम गर्न सकेको छैन।
भदौ ३ गते उपत्यका नगरपालिका फोरमले समेत ५ हजारको संख्यामा आइसोलेसन बेड बनाउने भनेको थियो। त्यसका लगि एकीकृत रुपमा तीनै तहका सरकारको समन्वयमा बनाउने फोरमको भनाइ थियो।
भदौ ४ गतेपछि एह हजार पाँच सय क्षमतको आइसोलेसन बेड तयार भएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए।
'जनमैत्री अस्पतालमा ३ सय बेडको आइसोलेसन वार्ड तयार भएको छ। ललितपुरको स्टाफ कलेजमा १ सय, खरीपाटीमा ३ सय बेड तयार भएको छ,' उनले भने, 'सामाखुसीमा रहेको मानव आश्रममा ५ सय र बल्खुमा रहेको मानव आश्रममा ३ सय आइसोलेसन बेड तयार भएको छ।'
आइसोलेसन बेडहरु अक्सिजनको सेवा दिन मिल्ने गरि तयार पारिएको उनले बताए। विभिन्न कारणले केहीदिनयता आइसोलेसन बेडका बारेमा छलफल समेत नभएको उनको भनाइ छ।
देशभर भने अहिलेसम्म १९ हजार ४ ओटा आइसोलेसन बेड तयार भएका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार अहिलेसम्म सबैभन्दा बढी प्रदेश-५ मा ४ हजार ४ सय ३९ आइसोलेसन बेड छ।
प्रदेश १ मा सबैभन्दा कम आइसोलेसन बेड छ। सिसिएमसीका अनुसार त्यहाँ १ हजार २ सय ११ वटा बेड छ। संघीय राजधानी काठमाडौं रहेको वागमती प्रदेशमा अहिलेसम्म ३ हजार ६३ वटा आइसोलेसन बेड तयार गरिएको छ।
सुदुरपश्चिम प्रदेशमा ३ हजार ९ सय १९ वटा आइसोलेसन बेड रहेका छन्। प्रदेश २ मा ३ हजार १७ बेड छ भने गण्डकी प्रदेशमा १ हजार ४ सय १४ आइसोलेसन बेड रहेका छन्।