एक लाख दिन्छु भन्दा पनि नबेचेको फाइटर भाले
दाङको घोराहीका १९ वर्षीय विगन पुन बिहान उठ्नेबित्तिकै आफ्नो मुख धुन बिर्सेलान तर कुखुराको भालेको मुख धोइदिन बिर्सिन्नन्। मुख धोएपछि भाले 'फ्रेस' हुन्छ रे। अनि क्याल्सियम खुवाउँछन्। त्यसपछि खुला चौरमा चराउन लैजान्छन् र घरमा ल्याएर धान, मकै, गहुँजस्ता खाने कुरा दिन्छन्।
यो विगनको दैनिकी हो। थाहा पाउने भएदेखि नै उनी कुखुरासँग खेल्दै हुर्किए। घरमा कुखुरा प्रशस्तै हु्न्थे। उनका बुवा भाले पाल्न सौखिन थिए। ठूला र लडाकु भाले पाल्थे।
बालापनदेखि कुखुरासँग जोडिएको सम्बन्ध विगनले बिर्सन सकेनन्। बुझ्ने भएदेखि नै उनले पनि कुखुरा पाल्ने रहर हुर्काउन थाले।
रहरले मात्रै जीवन चल्दैन भन्ने कुराको ज्ञान भएपछि उनले यसैलाई व्यवसायमा बदल्ने निधो गरे।
उनले फाइटर कुखुरा ल्याए। मान्छेलाई भन्दा बढी राम्रोसँग पाले।
ती भालेलाई फाइट खेलाउन उनी पोखरा, काठमाडौं, भारत उत्तर प्रदेशको नानपारा र बहराइचसम्म पुगे। भाले लडाइँमा उनलाई कतै सफलता मिल्थ्यो, कतै असफलता।
गत वर्ष फागुनमा सिद्धार्थ बैंकका कर्मचारी अजित श्रेष्ठसँग ५७ हजारमा अर्को एउटा भाले किने। रामपुरी नश्लको त्यो भाले श्रेष्ठले कलकत्ताबाट किनेर ल्याएका थिए। यो जात असिल कुखुराको सक्कली नश्ल मान्ने गरिन्छ।
नेपालमा पनि यो भाले पाल्नेहरूको ‘असिल नेपाल’ ग्रुप छ। ग्रुपका अध्यक्ष दीपाङ्कर प्रधान हुन्। त्यही ग्रुपले नेपालमा बेलाबेलामा भाले लडाउने टुर्नामेन्ट आयोजना गर्ने विगनले बताए।उनका अनुसार टुर्नामेन्टमा हजारौंको बेट (बाजी) पनि चल्छ। सौखिन व्यक्तिहरू भाले जुधाएर मनोरञ्जन लिन्छन्। जित हारको खेल खेल्छन्। दुई वर्षपहिले असिल नेपालले काठमाडौंमा आयोजना गरेको टुर्नामेन्टमा प्रवेश शुल्कमात्र दुई हजार रुपैयाँ थियो।
एक वर्षअघि पोखरामा आयोजना गरिएको टुर्नामेन्टमा प्रवेश शूल्क ५ हजार थियो।