पृथ्वी राजमार्गमा हजारौँ यातायात मजदुर अलपत्र
(गोरखा) पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएपछि यातायात मजदुरहरु चारदिनदेखि सडकमै अलपत्र परिरहेका छन् । मौवाखोलादेखिको ट्रकको ताँती कुरिनघाटसम्म आइपुगेका थिए।सुदूरपश्चिमको कैलालीबाट काठमाडौंँका लागि चिनी ढुवानी गरेर आएका चार जना चालक सहचालकको समूह बिहानै बिहीबार कुरिनघाटबाट केही पर भेटिए । दुइटा ट्रकको बीचको खालि जग्गामा उनीहरु खाना बनाउँदै थिए । मिठो बासना आउने गरी खाना पकाइरहेका उनीहरुले नमिठो गुनासो पोखे ।
आफूहरु अप्ठ्यारोमा परेको मौका छोपेर स्थानीय व्यापारीले ठगेकोमा उनीहरुको ठूलो चित्त दुखाइ थियो । ‘हामीले सँधै किलोको ६० रुपैयाँ तिर्ने चामललाई यहाँ किलोका १३० तिर्नुपर्यो’, यातायात मजदुर केशवसिँह ठकुरीले भने, ‘नभै भएको छैन, के गर्नु, डेढसय भनेको भए पनि किन्नुपर्थ्यो ।’