चितवनमा बोरामा शव भेटियो, गाडीको ठक्करबाट अर्का एक व्यक्तिको मृत्यु
भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन्। उनलाई आज बिहान ३:३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
बोरामा शव भेटियो
भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन्।
थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए।