बोक्सी आरोपमा महिलामाथि अमानवीय व्यवहार
(वीरगञ्ज) पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।
छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण बनेको निलडाम देखिन्छ । उनीमाथि गत असार ३१ गते दुर्व्यवहार भएको हो ।
गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् । बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए । बुडगाइँ प्रहरी चौकीबाट प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो ।
‘गाउँबाटै निकाल्न खोजेका रहेछन्, प्रहरी समयमै नपुगेको भए उनलाई भारततिर खेद्ने उनीहरुको योजना रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो
आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले महिलामाथि अमानवीय व्यवहार गर्ने जो कोहिलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘मान्छे भएर मान्छेलाई गर्न नहुने व्यवहार आरोपीहरुले गरेको पाइएको छ,’ उनले भने, ‘पीडितको तर्फबाट जाहेरी आइसकेको छ । बयान लिईसकेका छौं । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेका छौं । घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर प्रहरी सचेत रहेको बताउँदै उनले घटनाका प्रत्यक्षदर्शीहरुसँग समेत सोधपुछ गर्ने बताए ।
मुलुकी ऐनको फौजदारी संहितामा कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गरे कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने उल्लेख छ । त्यति मात्रै होइन, कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने उल्लेख छ । यस्तो घटनामा कसुर भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी दिन पाइन्छ ।