सरकारलाई विदेशमा अलपत्र नागरिक उद्धार गर्न सकस, तर विदेश पठाउन हतार
सरकारले गत फागुनदेखि कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जाने कामदारका हकमा बन्द गरेका श्रम स्वीकृति खुलाएको छ । रोजगारदाता देशको मागअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि श्रम स्वीकृति खुला गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।
सीसीएमसीले दिएको जिम्मेवारीअनुसार श्रम मन्त्रालय पनि वैदेशिक रोजगारीमा कामदार पठाउनका गृहकार्य सुरु गरेको जानकारी दिएको छ । श्रम मन्त्रालयले आइतबार वैदेशिक रोजगार विभाग, श्रम कार्यालयलाई श्रम स्वीकृतिका आवेदन लिने विषयमा छलफलसमेत गरेको छ ।
श्रम मन्त्रालयलाई सीसीएमसीले घर बिदा आएका र नयाँ रोजगारीमा जाने कामदारका हकमा श्रम स्वीकृति दिने निर्णय गर्नसक्ने उल्लेख गरेको थियो । श्रम मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार श्रम स्वीकृति दिनका लागि गुहकार्य थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने कामदारका हकमा यो साताभित्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । ‘नयाँ श्रम स्वीकृति लिएर जाने कामदारका हकमा भन्ने रोजगारदाता देश र कम्पनीले श्रमिकको सम्पूर्ण जिम्मा लिने भए मात्र पठाउने हो । कोरोना भाइरसको कारण श्रम स्वीकृति रोकिँदा घर बिदामा आएका कामदारलाई समस्या हुन्छ,’ उनले भने, ‘यो सातामै श्रम स्वीकृति खुल्छ । गन्तव्य मुलुकले कामदार लिएमा कामदार जानको लागि आवतजावत खुलासमेत गरिएको छ । कोरिया, जापान, खाडीका देश र मलेसियालगायतका देशमा श्रम स्वीकृति जारी गरिने छ ।’ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।