पाटन अस्पतालको 'अल्ट्रासाउण्ड' मेसिन चोरी गरेको आरोपमा एक चिकित्सकसहित दुई पक्राउ
पाटन अस्पतालबाट 'अल्ट्रासाउण्ड' मेसिन चोरी गरेको आरोपमा एक चिकित्सकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार महानगरीय प्रहरी परिसरले पाटन अस्पतालको आइसियुबाट 'पोर्टेबल अल्ट्रासाउण्ड' मेसिन चोरी गरेको आरोपमा ३६ वर्षीय चिकित्सक डा. प्रवीण मिश्र र २० वर्षीय रमेशकुमार शर्मालाई पक्राउ गरेको हो।
मिश्र सर्लाही बलरा नगरपालिका वडा नं.१ का हुन् भने शर्माको महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १३ का हुन्। उनीहरू हाल काठमाडौं नगरपालिका वडा नं.३१ मा बस्दै आएका थिए। उनीहरूले जेठ १७ गते बिहान साढे आठ बजे अस्पतालको आइसियुमा रहेको २० लाख ७९ हजार ८ सय ७ रूपैयाँ पर्ने पोर्टेबल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौं भन्ने बहाना बनाएका थिए।
त्यही बेला सो वार्डका स्वास्थ्यकर्मीहरू व्यस्त भएको मौका छोपी उक्त मेसिनको पार्टपूर्जा चोरी गरी लगेका थिए।
प्रहरीले अनुसन्धान गरी उनीहरूले चोरी गरेको पुष्टि भएपछि पक्राउ गरेको परिसरले जनाएको छ। उनीहरूबाट अल्ट्रासाउण्ड मेसिन समेत बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।