खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई विदा दिन थालियो
(काठमाडौं) कोरोनाभाइरसको त्रासका कारण पर्यटक आगमन प्रभावित भएपछि होटलहरुले सञ्चालन खर्च घटाउने उपाय खोज्न थालेका छन् । उनीहरुले विभिन्न तरिकाबाट सञ्चालन खर्च घटाउन प्रयत्न थालेका हुन् ।
कतिपय होटलहरुले कर्मचारीलाई विदा दिन सुरु गरेका छन् । आपसी सहमतिका आधारमा ज्यालादारीलाई बेतलवी र करार स्थायी कर्मचारीलाई आधा तलब मात्रै दिने गरी विदा दिन सुरु गरिएको हो । होटलमा भएका बुकिङ पनि रद्ध भएको र ‘अकुपेन्सी’ दर निकै कम भएपछि अत्यावश्यक बाहेकका कर्मचारीलाई पर्यटकहरु बाक्लिएपछि बोलाउने गरी विदा गर्न थालिएको हो ।
काठमाडौंसहित पोखरा, सौराहा, बर्दिया, भैरहवा, नेपालगञ्ज लगायतका क्षेत्रका होटलहरुले आफ्नो सञ्चालन खर्च घटाउने उपाय स्वरुप यस्तो अभ्यास सुरु गरेका हुन् । तर, धेरै होटलहरुले यो विषय बाहिर ल्याउन चोहका छैनन् । पर्यटन व्यवसायी सुमन पाण्डे भ्रमण वर्ष २०२० को माहौलमा पर्यटक आगमन बढ्ने आसमा लगानी थपेका होटल व्यवसायीलाई अहिले चरम समस्या परेको बताउँछन् । उनले सञ्चालन खर्च घटाउन सरकारले पनि विभिन्न सहयोग गर्नुपर्ने बताए ।
‘आतिथ्य सेवाका उत्पादन बढेका छन् । व्यवसायीले क्षमता विस्तार गरेका छन् । नयाँ कम्पनी स्थापना गर्दै बढ्दो व्यवसायबाट लाभ लिन सक्ने अपेक्षा हामीले गरेका थियौ,’ उनी भन्छन्, जहाज, हेलिकप्टरको बढ्दो संख्या पनि यसकै उपज हो । यस्तो बेला अपेक्षित पाहुना आउन सकेनन् भने पर्यटन व्यवसाय डुब्छ । पर्यटन क्षेत्रले अहिले राज्यको साथ खोज्दैछ ।’
अहिले धेरैजसो उद्योग बैंकको ऋणमा आधारित छन् । विजनेस नभएसम्म व्यवसायीलाई बैंकको ऋण तिर्न पिरोलो पर्न थालेको छ । ऋण व्यवस्थापन कसरी गर्ने भन्ने उपाय खाजिरहेका होटल व्यवसायीले होटलकै कारण घाटा ब्यहोर्ने अवस्था नआओस् भनेर विभिन्न अभ्यास थालेका हुन् । पाण्डेले पर्यटन उद्योगभित्र पनि अब सहमतिमा ‘सप्लाई’ घटाउन काम थाल्नुपर्ने बताउँछन् ।
‘होटेलहरुले आधा कोठा तत्कालका लागि बन्द गर्न सक्छन् । सहमति भयो भने कर्मचारीहरुलाई बेतलवी बिदामा घर पठाउन सकिन्छ । आपतकालमा नेगोसियसनमै तलब पनि घटाउन सकिन्छ,’ उनी भन्छन्,’ यस्ता धेरै उपाय लगाउन सकिन्छ । सकभर खर्च कम गर्ने उपायतर्फ व्यवसायीसमेत जुट्नुपर्ने अवस्था छ । सरकारले त्यसमा सघाउनुपर्छ । मूख्य कुरा अबको ६ महिना त हामी बाँच्नुपर्छ ।’
लगभग ५० प्रतिशत उडान रद्ध भइसकेको र चीनको मार्केट त शुन्यमै गएको पाण्डेले बताए ।
‘अहिले जुन रुपमा कोरोनोको संक्रमण दर बढ्दै छ, त्यही अवस्था रहृयो भने हाम्रो पर्यटन साफ नै हुन्छ । यत्रायत्रा होटलहरु बनेका छन् । स्टार होटलहरुले करोडौं रुपैयाँको किस्ता तिर्नुपर्छ । अब ६ महिनासम्म किस्ताबापतको ईएमआई होल्ड हुने गरी नीति ल्याउनुपर्यो,’ उनी भन्छन्,’ १० वर्षको ऋण १५ वर्षलाई ‘रि-सेड्युल’ गर्दा समस्या समाधान हुन्छ । त्यो गर्न सरकार चुक्यो भने दुर्घटना हुन्छ, व्यवसायीहरु सडकमा पुग्छन् ।’
कर्मचारी विदा गर्दै सौराहा
कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । सौराहाका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र अकुपेन्सी छ । संघका अध्यक्ष दीपक भट्टराईले गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे ।
नेपाली संघसंस्थाका कार्यक्रम भइरहेकाले अहिले २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो संख्या निकै न्यून हुने उनको भनाइ छ । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।
होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् ।
अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो ।सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षातसमयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउँछन् ।
यकिन तथ्यांक नभए पनि सौराहाका ११५ होटल बनाउन आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउँछन् ।