कोरोनाको डरले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय
(धनगढी) कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन भन्दै धनगढी उपमहानगरपालिले उपमहानगरभित्रका सबै शैक्षिक संस्था बन्द तथा आसन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान सरोकारवालासँगको छलफलपछि उपमहानगरपालिका परीक्षा स्थगित गरी फागुन २५ गतेदेखि सबै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको नगरप्रमुख नृपबहादुर वडले बताए।
नेपालका छिमेकीसहित विश्वका विभिन्न देशमा कोरोना भाइरस दिन–प्रतिदिन फैलिरहेकोले सो अवस्थाबाट जोगिन सरोकारवालासँग गरिएको छलफल तथा सुझावअनुसार सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। ‘सामुदायिक तथा संस्थागत विद्यालय एवं सम्पूर्ण शिक्षण संस्थामा सञ्चालन हुने परीक्षा, पठनपाठनलगायत सम्पूर्ण क्रियाकलाप अर्को सूचना जारी नभएसम्मका लागि फागुन २५ गतेदेखि बन्द गर्ने निर्णय गरिएको,’ उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।
नगरमा फागुन २८ गतेदेखि परीक्षा सञ्चालन गरेर चैत ५ गतेबाट बन्द गर्न धेरै विद्यालयले तयारीमा गर्दैगरेका बेला धनगढी उपमहानगरपालिकाले यो निर्णयले नगरको वार्षिक शैक्षिक कार्यतालिका तथा शैक्षिक सत्र प्रभावित हुने अवस्था सिर्जना भएकोप्रति सरोकारवालाहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्। नगरमा कोरोना संक्रमित फेला परिनसकेको अवस्थामा परीक्षासमेत स्थगित गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारको काम भएको उनीहरूको प्रतिक्रिया छ।
‘यहाँ कोरोना भाइरसको केस देखिएर भयावह अवस्था भइसकेको होइन्, चाँडै परीक्षा सञ्चालन गरेर शिक्षालयहरू बन्द गर्दा पनि हुन्थ्यो,’ कैलालीका बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर हेमराज पन्तले भने, ‘अहिले नै शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारमा भएको छ।’ धनगढी इन्जिनियरिङ कलेज नास्टका प्रमुख शिवहरि मुढभरी पनि मुखैमा आएको परीक्षालाई बाधा गरेर धनगढी उपमहानगरपालिकाले शिक्षालय बन्द गर्ने निर्णय गर्नु उपयुक्त नभएको बताउँछन्। ‘अहिले त्यस्तो भयावह अवस्था भइनसकेको बेला परीक्षासमेत हेम्पर गरेर विद्यालय बन्द गर्ने निर्णयको म समर्थन गर्न सक्तैन,’ उनले भने, ‘म त भोलि, पर्सि कलेज र विद्यालय सञ्चालन गर्छु।’ कक्षा ११ र कक्षा १२ को वैशाखमा हुने परीक्षाको फागुन २८ गतेदेखि प्रयोगात्मक परीक्षा हुने भएकाले धनगढी उपमहानगरपालिकाको निविद्यालय बन्द गर्न नसकिने उनको भनाइ छ। ‘एसइईको कुरो छ, कक्षा ११, कक्षा १२ को परीक्षाको कुरो छ, यो उपमहानगरपालिकाले निर्णय गरेर हुने कुरा होइन,’ उनी भन्छन्, ‘आफ्नो क्षेत्रको वस्तुस्थिति अवगत गराएर राष्ट्रिय परीक्षा बोर्डबाट नै परीक्षा स्थगित गराए मात्र कार्यान्वयन हुन्छ।’
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले कोरोनाबाट जोगिन विद्यालय बन्द गर्ने निर्णय सही भए पनि विद्यालयमा पर्सिदेखि सञ्चालन हुने भनिएका परीक्षा स्थगित गरेर विद्यालय बन्द गर्ने निर्णयमा सहमत हुन नसकिने बताए।
‘सरोकारवालासँग विस्तृत छलफल गरेर परीक्षा सकिएपछि शिक्षालय बन्द गर्ने निर्णय गर्नुपथ्र्यो,’ उनले भने, ‘हतारिएर तयारीमा रहेको परीक्षा रोकेर शिक्षालय बन्द गर्ने निर्णयमा सहमत हुन सकिँदैन।’ अभिभावक, विद्यार्थी र नागरिक समाजका अगुवालगायतले पनि धनगढी नगरपालिकाले परीक्षा स्थगित गरेर विद्यालय बन्द गर्न गरेको निर्णय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।