पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट
(काठमाडौं) भक्तपुरस्थित पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ । बुधबार बिहान करिब पौने ८ बजे प्रेसर कुकर बम विष्फोट भएको हो ।
विष्फोटबाट घरको कम्पाउन्डमा र घर परिसरमा राखेको मारुती भ्यानमा क्षति पुगेको छ । विस्फोटबाट बास्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी पुगेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते बाध्य भए सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।
