इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु
(रोम) इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ३६८ जनाको ज्यान गएको छ। यो कोरोना संक्रमणबाट एकै दिनमा ज्यान गुमाएको सबैभन्दा बढी हो। यसअघि गत शुक्रबार इटालीमा २५० जनाको ज्यान गएको थियो।
इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय नौ पुगेको छ। इटाली चीनपछि कोरोना संक्रमणबाट प्रभावित देश हो। कोरोना भाइरसबाट प्रभावित फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरू बन्द गरिएका छन्।
फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ। जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ।