कोरोनाले एयरलाइन्स उद्योगमा १३१ खर्बको क्षति
(काठमाडौं) कोरोना भाइरसले विश्ववयापी रुपमा हवाई यात्रुको संख्यामा गिरावट आएको छ । यसले ठूलो धनरासी नोक्सान हुने प्रक्षेपण अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा)ले गरेको छ ।
एशोसिएशनका अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर -करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ ।
यो अनुमान कार्गो उडानबाट प्राप्त हुने राजस्व नजोडिएको अवस्थामा गरिएको आएटाले जानाएको छ । यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो । तर, त्यसपछि कोरोनाले विश्वका करीव ८० मुलुकमा आफ्नो प्रभाव बिस्तार गरिसकेको छ । यसले हवाई यात्रुमा व्यापक कमी आउँदा त्यसले एयरलाइन्स उद्योगमा ठूलो क्षति हुने प्रक्षेपण आएटाले गरेको हो ।
आएटाका अनुसार कोरोना भाइरसको संक्रमणसँगै एयरलाइन्स कम्पनीको शेयर मूल्यसमेत विश्वव्यापी रुपमा करीव २५ प्रतिशतले गिरावट आइसकेको छ । यो सन् २००३ यताकै सबैभन्दा कम रहेको आएटाको भनाइ छ ।