स्वदेश फर्कन नपाएर पर्यटक छटपटिँदै
अमेरिकी नागरिक क्यामरोन बेल वालेनफेल्सले ९० दिन लामो नेपाल भ्रमण सके।
विभिन्न रूटका पदमार्ग हुँदै पहाड र तराइका जिल्लाहरू घुमेका क्यामरोन निर्धारित समयमा स्वदेश फर्कन पाएका छैनन्। पाएपनि उनी जान भने डराइरहेका छन्। ९० दिन नेपालमा बिताइसकेका उनले दैनिक ३ डलर खर्चेर आफ्नो भिसाको म्याद मंगलबार २५ दिन थप गरे।
अमेरिकी पर्यटक क्यामरोन मात्र होइन, बेलायती जर्जिना बेथाङ फोर्डले १५ दिने भ्रमण सकेर फेरि १५, फ्रान्सेली मिल्हिट छाइरले ३० दिनको भ्रमण सकेर १५ र जर्मनीका निकोल एन्ना केस्लरले पनि ३० दिनको भ्रमण अवधि सकिएपछि ३० दिन भिसा थपेका छन्।
उनका अनुसार कोराेना भाइरसका कारण स्वदेश फर्कन नपाएका कतिपय पर्यटकसँग थप बसाइका लागि चाहिने खर्च समेत छैन।
'कतिपय पर्यटकले मेरो घुम्ने समय सकियो, घुमघाम गरेँ, निर्धारित समय र खर्च सकिएकाले यहीँ बस्नुपर्दा थप्नुपर्ने भिसाको शुल्क नलिन भन्ने गरेका छन्,' उनले भने।
पोखरास्थित ट्रेकिङ कम्पनी इथिकल ट्रेकका कृष्ण आचार्यले पर्यटकहरू आफ्नो देशको दर्दनाक समाचार सुनेरै नेपाल छाड्न नचाहेको बताउँछन्। उनको समूहमा आएका अमेरिकी टोलीले आफ्नो देशमा ट्वाइलेट पेपर समेत अभाव भएको खबरले त्रसित बनाएको कुरा कृष्णसँग बताएका रहेछन्।
'अमेरिकाबाट आफ्नो देशमा सेल्फ क्वारेनटाइनमा बस्नुपर्दा जेल बसेको भन्दा पनि अप्ठ्यारो परेको आफन्तहरूले खबर गरेका छन्, यहाँ त निर्धक्क घुम्न पाइएको छ यहीँ बस्छौं भन्दै थिए। निकै डराएका छन्,' कृष्णले भने।
जर्मनीका केही पर्यटक भने जुनसुकै अवस्था भए पनि स्वदेश फर्कन चाहेको उनले बताए।
अध्यागमन विभागका अनुसार नेपाल आउने भारत बाहेक अन्य देशका नागरिकले तोकिएको शुल्क तिर्नुपर्छ। चिनियाँ नागरिकले पनि १५० दिन नि:शुल्क भिसा पाउँछन्।
अन्य देशका नागरिकले भने १५ दिनको भ्रमणका लागि ३० अमेरिकी डलर, ३० दिनको ५० र ५० दिनको भ्रमण भिसाका लागि १२५ डलर तिर्नुपर्छ। यसबाहेक भिसाको म्याद थप्नुपरेमा प्रतिदिन ३ डलर तिर्नुपर्छ। नेपाल भ्रमणमा आउने पर्यटकहरूले घुम्दा– घुम्दै समय अभाव भएको भन्दै भिसाको म्याद पहिले पनि थप्ने गर्थे। अध्यागमन कार्यालय पोखराबाट गत बर्ष फागुन महिनामा ६२२ जना पर्यटकले भिसाको समय थपेका थिए।
यस वर्ष फागुन महिनामा ५०२ जना पर्यटकले म्याद थपेका छन्। अहिले म्याद थप्नुको मुख्य कारण नै कोराेना भाइरसको महामारी छ।
कोराेना भाइरसले विश्वव्यापी महामारी लिनुभन्दा अघि अमेरिका, बेलायत, जर्मन, फ्रान्स, अष्ट्रेलिया लगायत देशबाट आएकाहरू अहिले स्वदेश फर्कन पाएका छैनन्।
उल्लेखित देशहरूमा नेपालको सिधा उडान छैन। उनीहरू भारत, हङकङ, दुबइ लगायत देश हुँदै नेपाल आउनुपर्छ। कोराेना भाइरसका कारण नेपाल सरकारले मात्र होइन, ती देशले पनि हवाई उडान स्थगित गरेका छन्। त्यसैले पनि नेपाल भित्रिएका पर्यटक स्वदेश फर्कन नपाएको अध्यागमन कार्यालय पोखराका निमित्त प्रमुख चेतराज आचार्यले बताए।
पोखरास्थित अध्यागमन कार्यालयमा मंगलबार भेटिएका अमेरिकी पर्यटक पल विलियम थोमसले कोराेना भाइरसकै कारण आफू स्वदेश फर्कन नपाएको बताए। नेर्वेजियन पर्यटक मोनिका मिरेङले १५ दिनको घुमघाम सकेर ३० दिन म्याद थपेको बताइन्।
उनीहरूको देशमा फैलिएको कोराेना भाइरसका कारण जनजीवन कष्टकर भएकाले कतिपय पर्यटक भने यहीँ बस्न चाहेका छन्।