युरोप कोरोनाको ‘इपिसेन्टर’ बन्यो
(काठमाडौं) विश्वका १ सय २३ देशमा फैलिसकेको कोरोना भाइरसको इपिसेन्टर चीनबाट युरोप सरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारीको इपिसेन्टर अब युरोप बनेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरसको आक्रमणबाट जीवन रक्षाका निम्ति आक्रामक कदम चाल्नुका साथै सामुदायिक परिचालन र सामाजिक जमघट कम गर्न मुलुकहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरसको आगो दन्किरहन नदिऊँ ।’
धेरै युरोपेली मुलुकमा कोरोना भाइरस संक्रमण तथा मृत्युको बढ्दो संख्या सार्वजनिक भइरहेका बेला विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो भनाइ बाहिर आएको हो ।
सबैभन्दा धेरै प्रभावित भएको युरोपेली मुलुक इटालीमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च रह्यो । शुक्रबार इटालीमा नोबल कोरोनाका कारण २ सय ५० जनाले ज्यान गुमाए । त्यो सँगै कोरोना संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या १२ सय ६६ जना पुगेको छ । इटालीमा कूल १७ हजार ६६० जना कोरोनाबाट संक्रमित छन् ।
इटालीपछि कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा शुक्रबार सम्म १ सय २० जनाको मृत्यु भयो । स्पेनमा कोरोनाबाट प्रभावितको संख्या ४ हजार २३१ पुगेको छ ।
युरोप किन इपिसेन्टर बन्यो ?
विश्वका १ सय २३ वटा देशमा गरी हालसम्म १ लाख ३२ हजार ५ सय जना भन्दा बढी मानिस कोभिड १९ अर्थात् नोबल कोरोना भाइरसको संक्रमणमा परेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
डब्लुएचओका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजारको नजिक पुगेको छ ।
चीनले आफ्नो देशले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँमा सफलता प्राप्त गरेको घोषणा गरेकै समयमा विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । चीनमा भाइरस सिथिल बनेसँगै अहिले यसले अन्य मुलुक र खासगरी युरोपलाई गाँज्न थालेको छ । डब्लुएचओका महानिर्देशकका अनुसार युरोप अहिले यो महामारीको केन्द्र अर्थात् इपिसेन्टर बनेको छ । चीनबाहेक विश्वका अन्य सबै देशहरुको कूल संक्रमण तथा मृत्युको संख्या भन्दा युरोपमा देखिएको संक्रमण तथा मृत्युको संख्या धेरै रहेको छ ।
उनका अनुसार चीनमा महामारीको सबैभन्दा उच्च समयमा भन्दा पनि युरोपमा अहिले भएको संक्रमण र मृत्युको संख्या बढी देखिन थालेको छ । स्पेन र इटालीमा मात्र होइन फ्रान्समा पनि संक्रमणको दर उच्च भएको छ । अहिलेसम्म २८ सय ७६ जना संक्रमित भएकोमा ७९ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै जर्मनीमा ३ हजार जना संक्रमित भएकोमा ५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ७ सय ९८ जना संक्रमित भएकोमा ११ जनाको मृत्यु भइसकेको छ । त्यस्तै स्विजरल्याण्डमा ११, नेदरल्याण्डमा १० तथा सान मारिनोमा ५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
बेल्जियममा ३ जनाले ज्यान गुमाउँदा नर्वे, स्वीडेन, अष्ट्रिया, ग्रिस, आयरल्याण्ड, अल्बानिया, बुल्गेरिया, अजरबैजान र युक्रेनमा १/१ जनाको मृत्यु भएको छ । त्यस्तै पोल्याण्डमा २ जनाले ज्यान गुमाएका छन् ।