६ महिनाको महिला लिग, खेलाडी उत्साहित
(काठमाडौं) अहिले मौसम फुटबलको छ । नेपालको उच्च श्रेणीको फुटबल शहीद स्मारक ए डिभिजन लिग सकिएको केही दिन मात्र भएको छ भने बी डिभिजन लिग सुरु भएको छ ।
मोफसलमा नकआउट फुटबल प्रतियोगिताहरु चलिरहेका छन् । दैनिक जसो ४–५ खेल हुन्छन् । एकै पटक सयभन्दा बढी पुरुष खेलाडी फुटबल खेलिरहेका छन् । तर सबै प्रतियोगिता पुरुषकै छन् ।
अनि महिला फुटबलका लागि के छ त ?
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै मात्र महिला फुटबलको स्तर विकास गर्न ६ महिना सञ्चालन हुने लिग आयोजना गर्ने निर्णय गरेको छ । तर लिगको मिति सार्वजनिक हुन सकेको छैन । अब छिट्टै महिला लिगको मिति सार्वजनिक गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
यसअघि विभागीय र क्षेत्रीय टिमहरुको लिग गर्दै आएको एन्फाले यस पटक विभागीय टिम र उपमेयर कप लिगको शीर्ष चार गरी ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । र, राउण्ड रोविनको आधारमा हुने लिग ६ महिना सञ्चालन हुनेछ ।